Mechi Times

कनकाईमा गोली हानेर भातरीय लागुऔषध कारोबारी पक्राउ

Posted
बुधवार, माघ २३, २०८१

बिर्तामोड, माघ २३ । प्रहरीले झापाको कनकाईमा गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीको गोली लागेर उनीहरु घाइते भएका छन् । लागुऔषधको अखडा भइरहेको झापामा कारोबारीलाई समात्न गोली हानेको यो तेस्रो घटना हो ।

घाइते अवस्थामा पक्राउ पर्नेमा भारत किसनगञ्ज जिल्ला दिघलबैंक ५ का २८ वर्षीय अन्जार आलम र उनका भाइ १७ वर्षीय युसुफ आलम रहेका छन् ।

झापा बजारबाट सुरुङ्गातर्फ आउँदै गरेको बिआर ३७ एए ८४९८ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुमाथि जाँच गर्न खोज्दा मोटरसाइकलको गति बढाएर प्रहरीलाई ठक्कर दिई भागेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिन पेस्तोलबाट ४ राउन्ड हवाई फायर गर्दासमेत भागेका थिए ।

नरोकी भाग्दै गर्दा नियन्त्रणमा लिनका लागि अन्जार आलमको देब्रे घुँडामुनि एक राउन्ड गोली प्रहार गरी दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार चन्दले बताए ।

अन्जार आलमको साथबाट प्लास्टिकसहित ३२ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । घाइते अन्जार आलमको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डिएसपी चन्दले जानकारी दिए ।

सम्बन्धित खबर