Mechi Times

दुधको समर्थन मूल्य नपाए आन्दोलनमा जाने झापाका किसानको चेतावनी

Posted
बिहिवार, माघ २४, २०८१

बिर्तामोड, माघ २४ । झापाका पशुपालक तथा दुग्ध उत्पादक किसानहरुले समर्थन मूल्य नपाएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

मन्त्रिपरिषदले निर्णय गरेको समर्थन मूल्यविपरीत डेरी उद्योगहरुले मनोमानी गरिरहेको दुग्ध उत्पादक किसानको आरोप छ ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै १५ महिनाअघिदेखि किसानले समर्थन मूल्य नपाएको र त्यसबापतको क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन् । दुधको समर्थन मूल्य डेरी उद्योगहरुले कायम नगरे आन्दोलनमा जाने संघका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषदले २०७९ फागुन १९ गते कच्चा दुधको ४ युनिट फ्याट र ८ युनिट एसएनएफ भएको कच्चा दुधको मूल्य ६५ रुपैयाँ र टीएस बापत थप रकम निर्धारण गरेको थियो ।

२०८० कार्तिक २३ गते कोशी प्रदेश डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योग सञ्चालकहरुले एकलौटी प्रतिलिटर ८ रुपैयाँ घटाएर कारोबार गरेको दुग्ध उत्पादक संघको आरोप छ । डेरी उद्योगहरुले २०८० मंसिर १ गतेदेखि दुधको मूल्य घटाएको उत्पादकहरुको भनाइ छ ।

२०८० मंसिर ७ गते केन्द्रीय दुग्ध सहकारी संघले २०८० कात्तिक २४ गते र डेरी उद्योग संघ नेपालले २०८० मंसिर ७ गते दुधको मूल्य नघटाई खरिदबिक्री गर्न पत्राचार गरे पनि डेरी उद्योगले त्यस निर्णयविपरीत कारोबार गर्दै आएको अध्यक्ष सिटौलाको भनाइ छ ।

डेरी उद्योगहरुले कोशी प्रदेशमा दैनिक उत्पादित १ लाख ५० हजार लिटर दुध खरिदमा १२ लाख रुपैयाँ कृषकहरुलाई नोक्सान पुर्याइरहेको भन्दै उनीहरुले हालसम्म भएको ५० करोड ४० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत उनीहरुले माग गरेका छन् ।

अन्य प्रदेशमा मन्त्री परिषदको निर्णयबमोजिम दुध खरिद बिक्री भईरहे पनि कोशी प्रदेशमा मात्र मूल्य घटाईएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।

पशुपालनमा खर्च बढिरहेको र कम मूल्यमा दुध बिक्री गर्नु पर्दा कृषकहरुलाई पलायन हुने अवस्था आएको उत्पादक संघले बताएको छ । दुधको मूल्यमा कमि आएपछि किसानहरु पलायन भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सम्बन्धित खबर