
बिर्तामोड, माघ २६ । सुनकला राईको ह्याट्रिकसँगै ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा बिर्तामोडले बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल अन्तरले हरायो ।
एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकला राईले खेलको १० औँ, १७ औँ, १९ औँ र खेलको इन्ज्युरी समयमा गोल गरिन् । अन्स्रिना आङबुहाङले खेलको १५ औँ मिनेटमा एक गोल थपिन् ।
सुनकला प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजार र ट्रफी पाइन् । उनको प्रदर्शन उत्कृष्ट रहेको भन्दै बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले थप तीन हजार प्रदान गरेका थिए ।

भोलिको खेल अर्जुनधारा नगरपालिका र दमक नगरपालिकाबीच हुनेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।