
बिर्तामोड, माघ २८ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यु स्टार एफसी र प्लानिङ ब्वाइज खेल्दै छन् ।
झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने फाइनल भिडन्तमा सुनसरीको न्यु स्टार र काठमाडौँको प्लानिङ ब्वाइज तयार रहेको जनाइएको छ ।
न्यु स्टारले भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै, मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो ।
त्यस्तै, प्लानिङ ब्वाइजले भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजक नव ज्योति युथ क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइजले फाइनल यात्रा तय गरेको हो ।
क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।