Mechi Times

पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु, सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी

Posted
शुक्रवार, फागुन २, २०८१

बिर्तामोड, फागुन १ । नेपालमा क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा सार्कका सात मुलुकका ३५० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डक्टर वीरेन्द्र यादवले बताए ।

सम्मेलनको शुभारम्भ आज बिर्तामोडस्थित अस्पतालको सभाहलमै हुनेछ भने शनिबार र आइतबार मेचीनगरको होटल मेची क्राउनमा विशेष छलफल कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

सम्मेलन शुक्रबार, शनिबार र आइतबार सञ्चालन हुनेछ । सम्मेलनमा क्यान्सर उपचारमा संलग्न एक सयजना विशेषज्ञ चिकित्सकहरुले प्रस्तुत गर्ने कार्यपत्रमाति व्यापक छलफल हुने डक्टर यादवले जानकारी दिए ।

दुई वर्षअघि पूर्वाञ्चल क्यान्सर अस्पतालले नै पहिलोपटक यस्तै सम्मेलनको आयोजना गरेको थियो ।

“यो अन्तर्राष्ट्रियस्तर र महत्वको सम्मेलन हो,” उनले सम्मेलनको बारेमा जानकारी दिन आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा भने– “स्तन र जिआई क्यान्सरका उदीयमान प्रवृत्तिहरुका विषयमा सम्मेलन केन्द्रित हुनेछ ।”

पत्रकार सम्मेलनमा सार्क फेडेरेसन अफ अंकोलोजिस्ट नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पिया, बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्मा, अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर