Mechi Times

२०८२ सालको दसैँको टिका असोज १६ गते

Posted
शनिवार, फागुन ३, २०८१

बिर्तामोड, फागुन ३ । २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टिका असोज १६ गते परेको छ ।

समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ ।

यसैगरी असोज १३ गते सोमबार फूलपाती, १४ गते मंगलबार महाअष्टमी पर्व परेको छ भने सोही दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ ।

असोज १५ गते बुधवार महानवमी र १६ गते बिहीबार विजयादशमी अर्थात् मान्यजनबाट दसैँको टिका लगाइसकेपछि देवी विसर्जन गरिनेछ । यस्तै २० गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ ।

कात्तिक २ गते आइतबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २ गते कागतिहार तथा धन्वन्तरी जयन्ती परेको छ भने ३ गते सोमबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा मनाइनेछ ।

सोही दिनलाई सुखरात्रि पनि भनिन्छ । ५ गते बुधवार गाईपूजा, गोरुपूजा, गोवर्धनपूजा र म्हपूजा परेको छ भने सोही दिन नेपाल सम्वत ११४६ आरम्भ हुनेछ ।

त्यस्तै ६ गते बिहीबार यम द्वितीया अर्थात् भाइटिका परेको छ । असोज २१ गते कात्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।

भदौ २३ गते सोमबारबाट सोह्र श्राद्ध सुरु भई असोज ५ गते आइतबार औँसी श्राद्ध गरिसके पछि पितृ विसर्जन गरिनेछ । २०८२ सालमा मनाइने अन्य चाडपर्वको तिथि र मिति पनि समितिले उल्लेख गरेको छ ।

सम्बन्धित खबर